नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सञ्चालित अभिमुखीकरण तालिम मापदण्ड अनुसार सञ्चालन नभएको पाइएको छ ।वैदेशिक रोजगार विभागका अनुसार तालिम प्रदायक कतिपय सङ्घसंस्थाले अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ अनुसार मापदण्ड पूरा नगरी तालिम सञ्चालन गरेको पाइएको जनाएको हो ।

यसका साथै यसअघि पनि विभागले गरेको अनुगमनमा कतिपय तालिम प्रदायकहरूले कक्षा सञ्चालन नै नगर्ने र श्रमिकको औँठाछाप समेत गलत लगाउने गरेको पाइएको थियो ।

वैदेशिक रोजगारीमा जानेहरूलाई गन्तव्य देशको बारेमा जानकारी दिने यो तालिम नै प्रभावकारी रूपमा सञ्चालन नहुँदा त्यसको मार श्रमिकलाई परिरहेको छ । सामान्य नीति नियमका बारेमा जानकारी नपाउँदा वैदेशिक रोजगारीमा गएका कतिपय श्रमिकहरूले जेल सजायसमेत भोगिरहेका छन् ।