मोरङको पथरीशनिश्चरे नगरमा आयोजनाहुने २९ औ विश्व आदिवासी दिवस कार्यक्रममा आदिबासी जनजाति अभियान्ता आङ्काजी शेर्पा आउने भएका छन् ।
अगष्ट ९ (साउन २४) तारिक आदिबासी जनजातिहरुले २९ औं विश्व आदिबासी दिवस मनाउदै छ । मोरङको पथरीशनिश्चरे नगरमा दिवस मनाउन नेपाल आदिबासी जनजाति महासंघ नगर समन्वय समितिको अध्यक्ष देबेन्द्र वनेमको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । सो समितिले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी नगरमा भव्य रुपले विश्व आदिबासी दिवस मनाउन तयारी भइरहेको जानकारी गराएको हो ।


पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रमुख अतिथ्यतामा हुने कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्न नेपाल आदिबासी जनजाति महासंघको पूर्व महासचिवसमेत रहेका आङ्काजी शेर्पा आउने निश्चित भएको आयोजक समितिको संयोजक देबेन्द्र वनेमले जानकारी दिए । प्रदेश नं. १ मा पुनः नामाङ्कनको आन्दोलन चलिरहेकोले २९ औं विश्व आदिबासी दिवसलाई अभियानको प्रचार तथा आन्दोलनकै रुपमा मनाउने तयारी भइरहेको बुझिएको छ ।


संयुक्त राष्ट्र संघको महासभाले सन १९९३ लाई विश्व आदिवासी दशकको रुपमा मनाउने निर्णय भएदेखि अगष्ट ९ मा विश्वभरका आदिबासी जनजातिहरुले दिवस मनाउदै आएको छ । यो बर्ष नेपाल आदिवासी जनजाति महासंघ संघीय समितिले सप्ताह व्यापी रुपमा दिवस मनाउने तयारी गरिरहेको महासचिव दिवस राईले बताए ।