ग्रिनक्रस अस्पतालबाट असार १४ गते नवजात शिशुलाई वेपत्ता पार्न संलग्न आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कटहरी–२ स्थित दिलमाया राजबंशीको साथबाट नवजात शिशुको उद्धार गर्दै रकम लेनदेनमा शिशु वेपत्ता बनाउने थप चारजनालाई मंगलबार नियन्त्रणमा लिइएको हो ।

यस अगाडी भदौ १ गते अस्पतालका चिकित्सक डा.तपेश्वरलाल कर्ण र गोबिन्द राईलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतबाट थप पाँच दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको थियो ।मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएका आरोपितहरुलाई सार्वजानिक समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–४ का २७ वर्षीय गोबिन्द राई, विराटनगर–२ घर भई दिपेश मेडिकल हलका सञ्चालक ६८ वर्षीय डा.तपेश्वरलाल कर्ण, विराटनगर–९ ग्रिनक्रस अस्पतालमा कार्यरत कर्मचारी सुधा राजबंशी, कटहरी गाउँपालिका–२ निवासी ४६ वर्षीया दिलमाया राजबंशी, ३० वर्षीय सुर्य नारायण राजबंशी, सिराहा कल्याणपुर नगरपालिका १२ का ३८ निर्मला यादव छन् ।