सतासीधाम सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित सात जनालाई काँचो सखुवा जातको रुख कटान गरेको आरोपमा पक्राउ गरिएको छ ।जिल्ला वन कार्यालय इलामले सामुदायिक वनका अध्यक्ष हेमबहादुर थापासहित सातजनालाई पक्राउ गरेको हो ।

वनबाट २४ वटा सखुवा जातको काँचो रुख कटान गरेको जाहेरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको छ । पक्राउ पर्ने अन्यमा सामुदायिक वनका परिषद् सदस्य बद्री थापा, टोली नं. ८ का टोली प्रमुख शेरबहादुर बुढाथोकी, कार्यालय सचिव केदार भट्टराई, चेन–स मेसिन चलाउने व्यक्ति सुमन राई, ट्याक्टर चालक पदम तामाङ रहेका छन् । त्यस्तै चेन–स मेसिन चलाउने अर्का व्यक्ति इलाम महमाई नगरपालिका–८ का धनबहादुर राई फरार छन् भने शिक्षक तथा सामुदायिक वनका लेखा संयोजक इन्द्र प्रसाईंलाई हाजिर जमानीमा छाडिएको वन कार्यालय इलामले जनाएको छ ।समूहका उपाध्यक्ष खेम बुढाथोकी हालसम्म फरार छन् । जिल्ला वन कार्यालय इलामका डिएफओ दानबहादुर श्रेष्ठले फरारहरू पनि पक्राउको सूचीमा राखी खोजी कार्य भइरहेको जनाए । उपाध्यक्ष बुढाथोकीले जिल्ला वन कार्यालय इलाममा आफै उपस्थित हुने जानकारी गराए पनि हालसम्म उपस्थित नभएकाले पक्राउ गर्ने तयारी भएको जानकारी दिए ।