मोरङको रंगेलीमा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ । दुर्घटनामा नाबालककी आमासहित दुई जना घाइते भएका छन् । आमाको अवस्था गम्भीर छ ।

रंगेली नगरपालिका–२ मंगलबारेमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २६२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९४६२ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो २ः४० बजेतिर दुर्घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दुर्घटनामा सुनवर्षी नगरपालिका–४ घर भइ विराटनगर महानगरपालिका–४ कञ्चनबारीमा डेरा गरी बस्ने बबिता राजवंशीका छोरा ३ वर्षीय दीक्षा राजवंशीको मृत्यु भएको हो ।

दुर्घटनामा नाबालक दीक्षा गम्भीर घाइते भएका थिए । विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा राति ८ः३० बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा परेर नाबालककी आमा अन्दाजी ३० वर्षीया बबिता गम्भीर घाइते भएकी छन् ।

गोल्डेनबाट बबितालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ । उनको दाहिने खुट्टाको घुँडादेखि तलको भाग कच्याककुचुक भएको अस्पतालले जनाएको छ ।

आमा–छोरा मोटरसाइकलको पछाडि सवार थिए । दुर्घटनालगत्तै बस र चालक रंगेली–७ का ३८ वर्षीय गंगाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । सडकको खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यकिन भएको छ ।