कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ ।सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । कोशी प्रदेश सरकारको गठन संविधान विपरीत भएको भन्दै पूर्व मुख्यमन्त्री एवं एमाले प्रदेश संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले सर्वोच्च अदालतमा भदौ ६ गते रिट दर्ता गराउनु भएको हो । त्यसमा सुनुवाई गर्दै न्यायाधीश खतिवडाको एकल इजलासले भदौ ७ गते विश्वासको मत संविधान सम्मत नदेखिएको भन्दै प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम नगर्न आदेश दिएको थियो । सर्वोच्चले उक्त मुद्धालाई अग्राधिकारमा राख्दै विपक्षीलाई भदौ १३ गतेभित्र लिखित जवाफ पेश गर्न पनि आदेश दिएको थियो ।