धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ । ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिना भित्र संस्थाको साधारण सभा बोलाउनु पर्ने र यसको विवरण नगरपालिकामा बुझाउनु पर्ने प्रावधान छ । योे प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिकाले जनाएको छ ।।