मलेसिया पठाइदिन्छु भन्दै तीन लाख रुपैयाँ ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । डोटीको शिखर नगरपालिका २ घर भई अहिले काठमाण्डौको सेतो पुल बस्ने ३२ वर्षका धनबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको हो । उनले कृष्णबहादुर बोगटीलाई वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै तीन लाख रुपैयाँ लिएका थिए । मलेसियामा प्याकिङको काममा महिनाको ६० हजार रुपैयाँ कमाइ हुने प्रलोभन समेत देखाएका थिए ।

तर तीन लाख रुपैयाँ रकम हात परेपछि धनबहादुर सम्पर्कविहीन भएका थिए । रकम ठगेर फरार भएपछि कृष्णबहादुरले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । विभागले गरेको पत्राचारको आधारमा धनबहादुरलाई पक्राउ गरी वैदेशिक रोजगार विभागको कार्यालय ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यस्तै वैदेशिक रोजगारीमा चेक रिपब्लिक पठाइदिने भन्दै ५० जनाबाट ४० लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेको आरोपमा प्रहरीले झापाको गौरादह ४ का अमृत कार्की र अशोक कार्कीलाई काठमाण्डौको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ । उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि विभागको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।।