नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा विश्व कीर्तिमानी जितसहित मंगोलियालाई २ सय ७३ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ ओभर एक बलमा ४१ रनमा अलआउट भयो ।नेपालको यो जित टि–२० इतिहासकै सबैभन्दा ठूलो जित हो । यसअघि सन् २०१९ मा चेक रिपब्लिकनले टर्कीलाई २ सय ५७ रनको अन्तरले हराएको थियो । मंगोलियाका दावासुरेनले १० रन बनाउनुबाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपालका करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले एक÷एक विकेट लिए । त्यसअघि चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो ।टी–२० खेलमा पहिलो पटक ३ सयभन्दा माथि रन बनेको हो । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले उच्च स्कोर बनाएको हो । कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे । कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए ।