इजरायलमा रहेका २५३ नेपाली नागरिक लिएर नेपाल एयरलाइन्सको विमान उडेको छ । विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा उडान भरेको हो ।


उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।
नेपालबाट गएको जहाजमा स्वेदश फिर्ताका लागि इजरायलको तेलअभिभ एयरपोर्टमा २५० जना नेपाली आइपुगेका थिए ।


नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहितका सरकारी अधिकारी पनि गएका छन् ।
युद्धग्रस्त क्षेत्रबाट उद्धार गरी विभिन्न सेल्टरमा राखिएका नेपालीहरुलाई अहिले विभानस्थलमा ल्याएर उडान भरिसकेको छ ।

पहिलो लटमा स्वदेश फिर्ता हुने टोलीमा हमासको आक्रमणबाट जोगिएका वीरेन्द्र चौधरी, प्रमोद केसी र धनबहादुर चौधरी पनि आउँदैछन् । यीमध्ये धनबहादुर चौधरी आक्रमणबाट घाइते भएका व्यक्ति हुन् । उपचारकै क्रममा रहेका उनलाई ट्राभल गर्न सक्ने चिकित्सकहरुले बताएपछि उनी स्वदेश नै आउन लागेका हुन् ।
आक्रमणमा परित घाइते भएका प्रविन डाँगी, विधान सेजुवाल र हिमाञ्चल कट्टेलको भने इजरायलमै उपचार भइरहेको छ । आक्रमणमा परेका विपिन जोशी अझै बेपत्ता छन् । १७ जनाको समूहमा भएको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो ।