कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्दव थापाले राजीनामा दिएका छन् । विराटनगरस्थित काङ्ग्रेस प्रदेश कार्यालयमा आज दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।उनले कोशी प्रदेश सरकार निर्माणका क्रममा देखिएको घटनाक्रमप्रति आफू पनि कारक रहेको बताउँदै राजीनामा दिएको बताए ।


‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’
उनले नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई बधाई ज्ञापन पनि गरे ।