विराटनगरमा यातायात मजदुर मिलेर युवतीमाथि सामूहिक बलात्कार गरेको घटना बाहिर आएको छ ।पीडितले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न तीन जना यातायात मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालकलाई पक्राउ गरेको हो । तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ बर्से बालक अर्को ट्रकमा काम गर्ने सहचालक रहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले तीन जना यातायात मजदुरले २५ वर्षीया युवतीमाथि विराटनगर महानगरपालिका–३ मा आइतबार बिहानका राति बलात्कार गरेको बताए ।

घटनामा संलग्नहरु आइतबार राति ट्रक पार्किङ गरेर खाना खान विराटनगर बसपार्कस्थित होटलमा पुगेका थिए । खाना खाएपछि सीटी सफारी चढेर ट्रक राखेको ठाउँमा उनीहरु फर्किएर आए । फर्किने क्रममा सफारीमै यात्रा गरिरहेकी युवतीलाई ललाइफकाइ ट्रक पार्किङ गरेको स्थानमा पुर्याएर सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी डीएसपी दाहालले दिए । उनका अनुसार पार्किङ गरेर राखेको दुईवटा ट्रकको बीचमा रहेको खाली ठाउँमा पुर्याएर युवतीमाथि सामूहिक बलात्कार गरेको पाइएको छ । घटना थाहा पाएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका हुन् ।