भोजपुरको हतुवागढी गाउँपालिकाले दृष्टिविहिन दुई विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ सोमबार गाउँ कार्यपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि चन्द्रकुमारी कार्की र सुनिता कार्कीलाई पालिका अध्यक्ष प्रेमकुमार राईले एक थान ल्यापटप प्रदान गरेका हुन् ।

शारिरिक, मानसिक रुपमा पूर्ण सक्षम कतिपय व्यक्तिहरु अधययन प्रति चासो नदिइरहेको अवस्थामा दृष्टि विहिन चन्द्र र सुनिताको अध्ययनको कुरा सम्मान योग्य रहेको पालिका अध्यक्ष राईले बताए ।

उनीहरुलाई अध्ययन गर्न सहजताको लागि गाउँसभाबाट आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट ल्यापटप प्रदान गरिएको हो । पालिका अध्यक्ष राईले गाउँपालिकाले दृष्टिविहन विद्यार्थीलाई प्रदान गरेको ल्यापटपले उनीहरुमा अझ सहज र आफू दृष्टिविहिन भएर पनि सबैलाई ज्ञान बाँढ्न सक्ने क्षमताको विकास हुने विश्वास व्यक्त गरेका छन् ।

सुनिताले उक्त ल्यापटप ग्रहण गर्दै सबैले एकै किसिमका ल्यापटप प्रयोग गर्ने भएपनि दृष्टिविहिनका लागि छुट्टै किबोर्ड जोडेर प्रयोग गरिने बताइन् । स्कृन रिडर सफ्टवेयर डाउनलोड गरेर पनि उक्त ल्यापटप सहजै प्रयोग गर्न सकिने उनले बताइन् । उनले अध्ययनको लागि पुस्तक नपाउँदा ल्यापटपको सहायताले कुनै पनि फोटो साथै पिडिएफ फाइललाई शब्दमा कन्भर्ट गरि सुनेर, विषयवस्तु खोजेर पढ्नुपर्ने भएकाले धेरै सहज हुने बताएकी छिन् ।