दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।नवरात्रका आठ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी देवीको पूजा आराधना गरेपछि आज नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यी देवीबाट सबै प्रकारका सिद्धि पाइने धार्मिक विश्वास छ ।