संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस भोलि आइतबार नेपाल भ्रमणमा आउँदै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उहाँ नेपाल आउन लागेका हुन्।
सन् २०१७ जनवरीमा उहाँले पदभार ग्रहण गरेपछि पहिलो पटक नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले कात्तिक १४ गते (आइतबार) संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले हिमालयमा जलवायु परिवर्तनको प्रभावको अवलोकन गर्नुका साथै प्रभावित समुदायसँग संक्षिप्त कुराकानी गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र पोखराको भ्रमण भ्रमण गर्ने कार्यतालिका बनेको छ ।
महासचिव गुटेरेशका साथमा संयुक्त राष्ट्रसंघका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हाम्दी र न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयका अन्य अधिकारीहरू र नेपालस्थित राष्ट्र संघको टोली पनि सहभागी हुने छ ।
भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाललगायतसँग भेटवार्ता गर्नेछन् । महासचिव गुटेरेस कात्तिक १५ गते नेपालबाट फिर्ता हुने कार्यतालिका बनेको छ ।