एरिना टेलिभिजन संवाददाता / राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा रहेका कुल घरहरूमध्ये सबैभन्दा बढी एकतले घर रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । सोमबार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपाल भर रहेको कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरूमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो ।
त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेको देखिएको छ । तथ्यांक अनुसार मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत रहेको छ ।
तथ्यांकअनुसार कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरूमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत घर ४ वर्षसम्म पुरानो रहेको छ भने सबैभन्दा कम १०० भन्दा बढी वर्षका घरहरू ०.५ प्रतिशत रहेको राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी हेमराज रेग्मीले बताए । त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवार मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।
त्यसैगरी, देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तीमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ । कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा एउटा खाता रहेको पाइएको छ । यसैगरी कुल १ करोड ४२ लाख ५३ हजार ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १ करोड ४९ लाख ११ हजार २७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा खाता रहेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ८ लाख ३६ हजार १२७ अर्थात १२.५५ प्रतिशत परिवारमा कम्तिमा १ जना व्यक्तिले प्राविधिक तथा व्यवसायिक शिक्षा वा तालिम लिएको देखिएको छ । जम्मा १० लाख ८१ हजार ६४६ जना व्यक्ति अर्थात ५.६७ प्रतिशत व्यक्तिले सो तालिम लिएको जनाइएको छ ।
त्यसैगरी देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये २५.५९ प्रतिशत परिवारले कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिएको छ । सबैभन्दा बढी मधेश प्रदेशमा २८.८८ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशतले ऋण लिएको तथ्यांक छ । उप–प्रमुख तथ्यांक अधिकारी रेग्मीले करिब ६ लाखभन्दा बढी घरहरू रित्तो अवस्थामा रहेको पनि बताए ।