एरिना टेलिभिजन संवाददाता
विराटनगर । विराटनगर महानगरपालिकामा केही समययता पूर्वाधार तथा समाजिक विकासको गति सुस्त देखिएको छ । महागनरमा नयाँ राजनीतिक नेतृत्व निर्वाचित भएपछि नयाँ योजनाहरुसहित महानगर अगाडि बढ्ने विश्वास नगरवासीले गरेको भए पनि महानगरको नेतृत्वको बरालिँदा विराटनगर दीर्घकालीन गुरुयोजना तर्फ अगाडि बढ्न सकेको छैन । बरु झिनामसिना, तात्कालिक र प्रचारमुखी योजनामा बरालिँदा महानगरले जनताको अपेक्षा अनुसारका योजनाहरु अगाडि सार्न सकेको छैन ।महानगरमा नयाँ नेतृत्व निर्वाचित भएको १८ महिनाको अवधिमा विकास निर्माण तर्फ विराट राजाको दरवार क्षेत्रका केही पोखरीहरु संरक्षण गर्ने बाहेक अरु उल्लेखनीय योजनाहरु प्रभावकारी ढंगले अगाडि बढ्न सकेको छैन । बरु यस अवधिमा महानगरले महत्वका साथ र अधिक प्रचारप्रसार गराएर अगाडि बढाएका आधा दर्जन योजनाहरु असफल हुँदा नयाँ नेतृत्वको कार्यक्षमताप्रति प्रश्न उठ्ने अवस्था बनेको छ ।अघिल्लो नेतृत्वले जनतालाई करको भारी बोकाएको भन्दै कर घटाउने नारा दिएर चुनावी परिणाम हाशिल गरेको नेतृत्वले कर घटाउने नाममा निजी शिक्षालयहरुको कर घटाउँदै सार्वजनिक तथा सामुदायिक शिक्षालाई निरुत्साहित गर्ने काम गरेको थियो ।