इटहरी उपमहानगरपालिकाले आर्थिक रूपमा विपन्न परिवारको निधनमा निःशुल्क दाहसंस्कार गर्दै आएको छ ।

विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि दाउरा लगायतका सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आएको हो।यसअघि घरदेखि घाटसम्म शववाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकाहरूलाई इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्दै आएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

उनकाअनुसार अहिलेसम्म १०४ जना विपन्नलाई निःशुल्क दाहसंस्कार गरिएको छ ।नगर प्रमुख पौडेलले आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेहरूका लागि यस्तो निर्णय गरिएको जानकारी दिए ।नागरिकको अन्त्येष्टिमा आर्थिक समस्या भएर टायरमा शव जलाउनुपर्ने अवस्था नआओस् भनेर दाहसंस्कार गर्नुअघि नै दाउरा लगायतका आवश्यक सामग्री घाटमा नै निःशुल्क व्यवस्था गरिएको उयनले बताए ।यस्तै, नगरबासीको मृत्युमा घाटसम्म शव लैजान उपमहानगरले निःशुल्क रूपमा शववाहन उपलब्ध गराउँदै आएको उनले जनाए ।

इटहरीका २० वटै वडामा कोही कसैको मृत्यु हुँदा अन्तिम संस्कारका लागि शववाहन तथा बिरामीलाई अस्पताल ल्याउन र लैजान एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्दै आएको उपमहानगरले जनाएको छ ।