औषधिको दुरूपयोग गरी लागूऔषधको रुपमा प्रयोग गर्ने र कानुनविपरीत बिक्रीवितरण गर्ने गिरोहले कोशी प्रदेशका मुख्य सहर र ग्रामीण केन्द्रहरुमा सञ्जाल बनाएरै सक्रिय भएको पाइएको हो ।बिरामीले सेवन गर्ने औषधिको दुरूपयोग गरेर लागूऔषध प्रयोगकर्ताहरूलाई बिक्री वितरण गरी चाँडै कमाउने धन्दामा लागेका यस्ता गिरोह सबैभन्दा बढी सुनसरीमा रहेका छन् ।

सुनसरीपछि मोरङ, झापा र उदयपुरमा अधिक छन् । डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधिलाई मिश्रण गरेर लागूऔषध बनाएर युवापुस्ताहरूलाई बिक्री वितरण गर्ने गिरोहको सञ्जाल ठूलो रहेको पाइएको हो ।

डाइसाइक्लोमाइन, ट्रामाडोल र प्रिगावालिन नामको औषधि बिरामीले दुखाइ कम गर्न चिकित्सकको सिफारिसमा मात्र सेवन गरिनुपर्ने औषधि रहेको विभागले जनाएको छ । तर, यहाँ यी औषधिको चरम दुरूपयोग बढेको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए ।

प्रत्येक वर्ष औषधिको अनुचित प्रयोग गरी दुरुपयोग गर्नेको संख्या बढेको कारणले अदालतमा मुद्दा संख्या पनि बढ्दो रहेको डिडिएको अभिलेखमा देखिन्छ । आर्थिक वर्ष २०७९÷०८० मा औषधिको दुरुपयोग गर्ने विरुद्ध ४५ वटा मुद्दा अदालतमा दर्ता भएको छ ।

यो संख्या प्रत्येक वर्ष बढ्दो रहेको छ । चालु आर्थिक वर्षको कार्तिक १२ गतेसम्म अदालतमा १८ वटा मुद्दा दर्ता भएको छ ।