मुख्य बिक्री हुने समय दशैँमा नै भारतीय सस्तो केरा बजारमा धेरै बिक्री भएपछि किसान हतोत्साही बनेका हुन् ।नेपालगन्जको जमुनाह नाकाबाट मात्र यो दुई महिनामा १० करोड रुपैयाँभन्दा बढीको केरा नेपाल आयात भएको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ को साउन र भदौमा मात्र नेपालगन्ज भन्सार नाका हुँदै १० करोड ३१ लाख २५ हजार मूल्यबराबरको केरा आयात भएको छ ।चाडपर्वका कारण दुई महिनामा केरा बढी आयात हुने गरेको र यो अवधिमा दुई हजार चार सय मेट्रिक टन केरा आयात भएको नेपालगन्ज भन्सार
कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले बताउनुभयो ।

उहाँका अनुसार यहाँबाट आयात भएको केरा देशका विभिन्न बजारमा पुग्ने गरेको छ । स्थानीय बजारमात्र नभई बर्दिया, सुर्खेत, दाङ हुँदै चितवनको नारायाणगढसम्म केरा खपत हुने गरेको छ ।


नेपालगन्जलगायत यस क्षेत्र केरालगायतका फलफूल उत्पादनको अवस्था न्यून छ । केरा उत्पादनका लागि किसान उत्साहित भए पनि भारतबाट आउने सस्तो मूल्यको केराका कारण किसानले उत्पादनतर्फ जोड नदिएको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ ।